काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ । पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय नेतृत्वले पहिलोपटक सामूहिक रूपमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी गतिविधिबारे छलफल गर्न लागेको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र निर्धारण, पार्टीको सांगठनिक योजना तथा मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘हामी तयार छौँ’ अभियान मुख्य छलफलका विषय बन्नेछन् ।
महाधिवेशनपछि पद तथा जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्यहरूलाई सभापति गगन थापाले आफूले काम गर्न चाहेको क्षेत्र पहिचान गरी त्यससम्बन्धी योजना पेस गर्न निर्देशन दिएका थिए । सोहीअनुसार केन्द्रीय सदस्यहरूबाट संकलन गरिएको विवरण र उनीहरूको प्रस्तावित कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ ।
त्यस्तै, पार्टीले सञ्चालन गरिरहेको ‘हामी तयार छौँ’ अभियानको प्रगति, प्रभावकारिता र आगामी कार्यदिशाबारे पनि समीक्षा गर्ने तयारी छ ।
यसपटकको बैठकमा केन्द्रीय सदस्यहरूलाई समेत आफ्नो धारणा राख्ने पर्याप्त समय उपलब्ध गराइने कांग्रेसले जनाएको छ । सबै सदस्यलाई बोल्ने अवसर दिँदा बैठक चारदेखि पाँच दिनसम्म लम्बिन सक्ने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
असोज १८ देखि २२ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट कांग्रेसमा २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । तर, नयाँ केन्द्रीय कार्यसमितिले अझै पूर्णता पाउन सकेको छैन ।
सभापति थापाले चार सहमहामन्त्रीसहित ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । केन्द्रीय कार्यसमितिमा प्रवक्ता र सहप्रवक्ताको जिम्मेवारीसमेत तोकिएको छैन ।