बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपालका दीर्घकालीन राष्ट्रिय हित र रणनीतिक महत्त्वका विषयले प्राथमिकता नपाएको टिप्पणी गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषय तथा तेस्रो मुलुकमा विद्युत् व्यापारका लागि देखिएका अवरोध हटाउने मुद्दासमेत छलफलमा नआएको बताएका छन् ।

नयाँ राजनीतिक नेतृत्व र बदलिएको जनअपेक्षाका कारण प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको भए पनि त्यसअनुसारको कूटनीतिक उपलब्धि हासिल हुन नसकेको आचार्यको टिप्पणी छ ।

उनले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमतिलाई भने भ्रमणको सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । तर, भ्रमणमा विगतमा भएका सहमतिलाई निरन्तरता दिने र निर्माण सम्पन्न भएका आयोजनाको उद्घाटन गर्ने विषयले नै बढी प्राथमिकता पाएको उनको भनाइ छ ।

भारतले घोषणा गरेको दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायताबारे पनि आचार्यले त्यसको प्रकृतिमाथि प्रश्न उठाएका छन् । उनका अनुसार उक्त रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान हो भने बाँकी एक खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधा हो ।

आचार्यले कुनै पनि उच्चस्तरीय भ्रमणको सफलता तत्काल सार्वजनिक भएका सहमति र घोषणाले मात्र मापन गर्न नहुने बताएका छन् । उनका अनुसार राष्ट्रिय हितसँग जोडिएका जटिल मुद्दामा भएको प्रगति र भविष्यका लागि निर्माण गरिएको ठोस आधार नै भ्रमणको वास्तविक उपलब्धिका मापदण्ड हुन् ।

‘समग्रमा सार्वजनिक भएका सहमति र तत्काल देखिएका उपलब्धिका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण औसत रह्यो,’ उनले लेखेका छन् ।

नयाँ नेतृत्वबाट नयाँ सोच, स्पष्ट कूटनीतिक दृष्टिकोण र राष्ट्रिय स्वार्थका मुद्दामा दृढ प्रस्तुतिको अपेक्षा गरिएको भए पनि भ्रमणले त्यसलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको आचार्यको निष्कर्ष छ । 

Share News