भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह मित्रराष्ट्र भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ लगायतले स्वागत गरेका थिए । 

यसअघि प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

सोही अवसरमा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने गरी आठ वटा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Share News