काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ ।
समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दुतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरेको भए पनि यसपटक त्यस्तो अवसर नदिइएको बताए ।
दुतावाससँग पटक-पटक सम्पर्क गर्दा प्रधानमन्त्रीले प्रवासी नेपालीसँग भेटघाट तथा भोजभतेरको कार्यक्रम आवश्यक नरहेको जानकारी गराएको खनालको भनाइ छ ।
उनले प्रवासी नेपालीले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राख्न पाउने परम्परा तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
खनालले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग जोडिएको बताए । आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, सिमकार्ड लिन तथा सरकारी अस्पतालमा उपचार गराउनसमेत समस्या हुने गरेको उनले उल्लेख गरे ।
भारतको आधार कार्डसम्बन्धी व्यवस्थाअनुसार १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भएपनि नेपालीका लागि ती प्रमाण जुटाउन कठिन रहेको उनको भनाइ छ ।
भारतका विभिन्न क्षेत्रमा छरिएर रहेका लाखौँ नेपाली सबैको नेपाली दुतावाससम्म पहुँच नहुने भएकाले आधार कार्ड बनाउन सहज र सरल विकल्प खोज्नुपर्ने उनले बताए ।
उनले भारतमा बसोवास गर्ने नेपालीले जानकारीको अभावमा भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसकै आधारमा कतिपय स्थानमा दोहोरो नागरिकताको आरोपमा समस्या भोग्नुपरेको बताए ।
यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
भारतमा जन्मिएका तथा हुर्किएका नेपालीका सन्तानले नेपाली भाषा राम्रोसँग बोल्न नसकेको वा भारतमा अध्ययन गरेको आधारमा नेपाली नागरिकता पाउन कठिनाइ भोग्नुपरेको विषय पनि खनालले उठाए ।
त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खनालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले नेपालीलाई भारतमा आवागमन, रोजगारी, पेशा, व्यापार तथा सम्पती खरिदविक्रीमा दिएको सुविधाको व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले प्रवासी नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।
यसैगरी, नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र नागरिकका मौलिक अधिकार लामो संघर्षबाट प्राप्त उपलब्धि भएकाले तिनको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
सरकारको बहुमतका आधारमा नागरिकका अधिकार संकुचित गर्ने प्रयास हुन नहुने भन्दै उनले विद्यार्थी, कर्मचारी, शिक्षक तथा पत्रकारका संगठनमाथि हुने हस्तक्षेप र पत्रकारमाथिका आक्रमणलाई लोकतान्त्रिक अधिकारसँग जोडेर हेर्नुपर्ने बताए ।
समाजले यसअघि सार्वजनिक गरेको मागपत्रमा भारतमा नेपालीले भोगिरहेका शैक्षिक तथा स्वास्थ्य सेवामा अतिरिक्त शुल्क, रोजगारीमा विभेद, यात्रा तथा सीमा नाकामा लुटपाट र प्रशासनिक दुव्र्यवहारका घटना रोक्न पनि सरकारसँग पहल गर्न आग्रह गरेको छ ।
खनालले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने प्रयास सफल नभए पनि पत्रकारमार्फत आफ्ना विषय सार्वजनिक गरी सरकारको ध्यानाकर्षण गराउन खोजिएको बताए ।
समाजले प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ ।
रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गरिनु उचित नभएको समाजको भनाइ छ ।
समाजका उपाध्यक्ष कपिल खनालले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग सम्बन्धित रहेको बताए ।
उनकाअनुसार आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमति पत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, अस्पतालमा उपचार गराउन तथा दुर्घटनाको क्षतिपूर्ति र पेन्सनलगायतका सुविधा प्राप्त गर्न कठिनाइ भइरहेको छ ।
भारतको नियमअनुसार १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भएपनि नेपालीका लागि ती प्रमाण जुटाउन कठिन रहेको उनले बताए । नेपालीका लागि आधार कार्ड बनाउने प्रक्रिया सहज बनाउन नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
खनालले भारतमा दैनिक जीवनका सुविधा प्राप्त गर्न नेपालीले जानकारीको अभावमा भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसैका आधारमा कतिपयलाई दोहोरो नागरिकताको आरोपमा पक्राउ गर्ने तथा मुद्दा चलाउने गरिएको बताए ।
यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन र समस्या समाधान गर्न दुवै देशका सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीलाई विदेशी नागरिकको व्यवहार गरी शैक्षिक संस्था र अस्पतालले अतिरिक्त शुल्क लिने गरेको तथा विद्यार्थीलाई रोजगारीमा विभेद गर्ने गरिएको समाजको आरोप छ ।
विद्यार्थीबाट पात्रता प्रमाणपत्र माग्ने प्रवृत्तिको अन्त्यका लागि पनि कुटनीतिक पहल गर्न समाजले आग्रह गरेको छ । भारतमा बस तथा रेल यात्रा गर्दा र सीमा नाकामा नेपाली लुटपाट तथा प्रशासनिक दुव्र्यवहारमा पर्ने गरेका घटनाप्रति ध्यानाकर्षण गराउँदै समाजले नेपालीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।