काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले आइतबार काठमाडौंसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट कुल ७१३ युनिट रगत सङ्कलन गरेको जनाएको छ ।
रक्तदान कार्यक्रमले रगतको अभाव झेलिरहेका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयका प्रमुखहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र (टोकन अफ एप्रिसिएसन) सहित पुरस्कृत गरेको छ ।
यसअघि बैंकले “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ मङ्सिर ५ गते काठमाडौंमा ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करणसमेत सम्पन्न गरेको थियो ।
१ हजार ४०० भन्दा बढी धावकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले शारीरिक सक्रियता र खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्दै सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको बैंकको भनाइ छ ।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले सम्पूर्ण सेवाग्राही, शेयरधनी, नियामक निकाय तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।