काठमाडौंमा आज ‘सेल ब्रोडकास्ट परीक्षण, मोबाइलमा चेतावनी ध्वनि बज्ने

सांकेतिक तस्बिर ।

काठमाडौं । सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ ।

विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले परीक्षण गर्न लागेको हो ।

गृह मन्त्रालयले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै आज बेलुकी ५ः३० बजेबाट काठमाडौंका केही क्षेत्रमा उक्त प्रणालीको परीक्षण गरिने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २ जी मोबाइल सञ्जालमार्फत गरिने यस परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनहरूमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ । 

परीक्षणको अवधिमा एउटै सन्देश एकभन्दा बढी पटकसमेत प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ ।

मोबाइलमा त्यस्तो चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

यो विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र रहेको मन्त्रालयको प्रष्टीकरण छ ।

यस प्रणालीको प्रयोगबाट विपद्का बेला नागरिकलाई समयमै सूचित गराउन र आवश्यक सावधानी अपनाउन महत्त्वपूर्ण मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।

Share News