गुरुद्वारा गुरु नानक सत्संग समितिमा एसबिआई बैंकको एटीएम सञ्चालन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ललितपुरको कुपन्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटीएम टर्मिनल सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सोमबार एटीएम टर्मिनलको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति थियो ।

श्रद्धालु, स्थानीय बासिन्दा तथा ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नयाँ एटीएमबाट ग्राहकले थप सुविधासहित बैंकिङ सेवा प्राप्त गर्ने अपेक्षा बैंकको छ ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा बाल पुस्तकालय स्थापना गर्न सहयोग सामग्रीसमेत प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिवारीले समितिका अध्यक्ष सिंहलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

शिक्षा र ज्ञानको प्रवर्द्धन गर्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले शिक्षा, सांस्कृतिक सम्पदा संरक्षण तथा समुदायस्तरका सामाजिक गतिविधिमा समय–समयमा सहयोग गर्दै आएको छ ।

नेपाल एसबिआई बैंकले ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

Share News