काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड बागलुङमा सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बागलुङले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा बैंकलाई सम्मान गरेको हो ।
कार्यालयले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको उपस्थितिमा बैंकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
आन्तरिक राजस्व कार्यालय, बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याउँदै सर्वाधिक कर दाखिला गरेको भन्दै बैंकलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले पारदर्शी वित्तीय कारोबार, करप्रतिको जिम्मेवारी र नियमित कर भुक्तानीले मुलुकको आर्थिक समृद्धि तथा विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए ।
सम्मान ग्रहण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले आगामी दिनमा पनि राज्यका नीति, नियम तथा प्रचलित कर कानुनको पूर्ण पालना गर्दै गुणस्तरीय बैंकिङ सेवामार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
बैंकले संस्थागत सुशासन, वित्तीय पारदर्शिता र जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।