काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन– ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।
एन– ट्याग एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सहयोग पुर्याउँछ ।
एन– ट्यागको स्टिकर सवारीमा टासेपछि एन– ट्यागबाट आफै रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन– ट्याग प्राप्त गर्न सक्नेछन् ।
एन– ट्यागसम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन एन– ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।