इजरायल पठाउने ठगीमा कांग्रेस नेता चौलागाईं जेल चलान

काठमाडौं । इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरत चौलागाईं पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले चौलागाईंलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो । 

यस प्रकरणमा पक्राउ परेका अन्य चारजना भने धरौटीमा रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई महिनाअघि चौलागाईंलाई पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरेको थियो ।

अदालतले बालिका सिवाकोटीलाई एक लाख रुपैयाँ, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई जनही दुई लाख ५० हजार रुपैयाँ तथा दीपेन्द्र सिंह सामन्तलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

उनीहरू तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रहरी अनुसन्धानअनुसार चौलागाईंको योजनामा मन्त्रिपरिषद्को नक्कली निर्णय देखाएर इजरायल जान इच्छुक व्यक्तिहरूसँग रकम असुलिएको थियो । 

प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनसँग सेटिङ मिलाएर मन्त्रिपरिषद्बाटै निर्णय गराइदिने भन्दै उनीहरूसँग रकम उठाइएको आरोप छ ।

Share News