काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् ।
फिलिपिन्सको राजधानी मनीलामा मंगलबार भएको क्वाड नेताहरूको उच्चस्तरीय बैठकका क्रममा ट्रम्पले मोदीलाई आफ्नो मित्र र विश्वले सम्मान गर्ने महान् नेता भन्दै प्रशंसा गरेका हुन् ।
बैठकमा ट्रम्पले मोदीलाई ‘निकै कडा व्यक्ति’ को संज्ञा दिँदै जापानी प्रधानमन्त्री साने ताकाइची उनीभन्दा पनि कडा हुन सक्ने टिप्पणी गरे । उनले मोदी आफ्नो असल मित्र भएको र विश्वभर उनको ठूलो सम्मान रहेको बताए ।
सन् २०२४ सेप्टेम्बरपछि पहिलोपटक क्वाडका शीर्ष नेताहरूबीच भएको यो बैठकमा ट्रम्प, मोदी, जापानी प्रधानमन्त्री ताकाइची र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिज सहभागी थिए ।
बैठक दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनका अवसरमा आयोजना गरिएको हो ।
बैठकमा हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा, आर्थिक सहकार्य, महत्वपूर्ण खनिज पदार्थ, दुर्लभ पृथ्वीका तत्व (रेयर अर्थ), ऊर्जा र नयाँ प्रविधिबारे छलफल भएको थियो ।
बैठकपछि ट्रम्पले क्वाड सदस्य राष्ट्रहरूले समुद्री गस्ती विमान समावेश भएको संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरे । त्यस्तै, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य विस्तार गर्न नयाँ पहल अघि बढाउने पनि बताए ।
मोदीले क्वाडलाई भारतका लागि रचनात्मक र विश्वासिलो साझेदारी भन्दै समुद्री सुरक्षा, विश्वसनीय आपूर्ति शृङ्खला, नयाँ प्रविधि र विपद् व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताए ।
ट्रम्पले आगामी १२ महिना निकै आश्चर्यजनक हुने दाबी गर्दै चारै देशले यसअघि कहिल्यै नभएका काम गरिरहेको र अपेक्षाभन्दा तीव्र गतिमा अघि बढिरहेको बताएका थिए ।