कपाल झर्ने समस्या रोक्न नयाँ प्रविधि, मुसामा २८ दिनमै नयाँ कपाल उम्रियो

काठमाडौं । कपाल पातलो हुँदै जाने र झर्ने समस्याबाट लाखौं मानिस पीडित छन् । यस्तो  खालको समस्याको उपचारमा नयाँ सम्भावना देखाउँदै चीनका अनुसन्धानकर्ताहरूले विशेष प्रकारको विद्युतीय काइँयो  विकास गरेका छन् । 

डिट्याङ्गल नाम दिइएको यो उपकरणले विद्युतीय तरङ्गको सानो स्पन्दनमार्फत कपालको जरालाई उत्तेजित गर्नुका साथै कपाल उमार्ने उपचारलाई छालाभित्र गहिराइसम्म पुर्याउने काम गर्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यो उपकरणले सामान्य रूपमा छालामा लगाइने उपचारको तुलनामा नौ गुणासम्म गहिराइमा औषधी पुर्याउन सक्छ । कपाल झर्ने उपचारमा औषधी कपालको जरासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्नु प्रमुख चुनौती रहँदै आएको छ ।

मुसामा गरिएको परीक्षणमा एक महिनाभन्दा कम समयमै उल्लेखनीय रूपमा नयाँ कपाल उम्रिएको पाइएको छ ।

परीक्षणका क्रममा कपाल झरेर खाली भएको भागमा २८ दिनभित्र बाक्लो कपाल पलाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यद्यपि यो विद्युतीय काइँयो हालसम्म जनावरमा मात्रै परीक्षण गरिएको छ । प्रारम्भिक नतिजाले एन्ड्रोजेनेटिक एलोपेसिया अर्थात् पुरुषमा सामान्यतया देखिने वंशाणुगत तालुपनको उपचारमा भविष्यमा उपयोगी हुन सक्ने संकेत गरेको छ ।

अनुसन्धान टोलीले ‘नेचर कम्युनिकेसन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनमा एन्ड्रोजेनेटिक एलोपेसियाबाट विश्वभर १ अर्ब ५० करोडभन्दा बढी मानिस प्रभावित रहेको उल्लेख गरेको छ । 

यसले क्रमिक रूपमा कपाल झर्ने समस्या निम्त्याउनुका साथै मानिसको मानसिक स्वास्थ्य र जीवनको गुणस्तरमा समेत असर पार्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एन्ड्रोजेनेटिक एलोपेसिया भएका मुसामा उक्त उपकरणको परीक्षण गरेका थिए । 

परीक्षणमा विद्युतीय उत्तेजनाले मात्रै पनि कपालको वृद्धि बढाएको, रक्तसञ्चारमा सुधार ल्याएको र कपालका जराको संख्या बढाएको पाइएको थियो । दुई प्रकारका आनुवंशिक उपचारसँगै प्रयोग गर्दा यसको प्रभाव अझ बढी देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

ती उपचारमध्ये एउटाले रक्तनलीको वृद्धि बढाउने र अर्कोले पुरुषमा तालुपन गराउन मुख्य भूमिका खेल्ने डीएचटी नामक हर्मोनको उत्पादन कम गर्ने उद्देश्य राखेको थियो । 

उक्त उपचारलाई औषधि पुर्याउने विशेष प्रणालीमार्फत काइँयोका छोटा दाँतमा राखिएको थियो ।

२८ दिनको अवधिमा उपचार गरिएका मुसामा झन्डै पूर्ण रूपमा कपाल पलाएको पाइएको थियो । यो नतिजा कपाल झर्ने समस्यामा प्रयोग गरिने सामान्य उपचार विधि मिनोक्सिडिल र फिनास्टेराइड भन्दा पनि राम्रो देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अध्ययनअनुसार परम्परागत उपचारबाट करिब ७० प्रतिशतसम्म कपाल पुनः उम्रिएको अवस्थामा डिट्याङ्गल प्रणाली प्रयोग गर्दा यो दर झन्डै १०० प्रतिशत पुगेको थियो । 

अनुसन्धानकर्ताहरूका अनुसार यो उपकरणले टाउकोको छालाभित्रको सूक्ष्म वातावरणमा सुधार ल्याएर कपालका जरवरिपरिको रक्तसञ्चार बढाउँछ । साथैकपाल पुनः उम्रन सहयोग गर्ने जैविक प्रक्रियालाई सक्रिय बनाउँछ । 

परम्परागत औषधिको प्रयोगले कतिपय अवस्थामा प्रतिकूल असर पार्न सक्ने वा टाउकोको छालाभित्र गहिराइमा रहेका कपालका जरासम्म पर्याप्त मात्रामा औषधी पुग्न नसक्ने समस्या हुन्छ । तर यो विद्युतीय काइँयो दैनिक कपाल कोर्ने सामान्य प्रक्रियामै प्रयोग गर्न सकिने गरी विकास गरिएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

अनुसन्धानका क्रममा विद्युतीय स्पन्दनले टाउकोको छालामा हुने सूजनसँग सम्बन्धित अणुहरू र डीएचटीको मात्रा घटाएको पाइएको थियो । मुसामा पटक–पटक प्रयोग गर्दा पनि छालामा क्षति, सूजन वा नसामा चोट पुगेको संकेत देखिएन ।

अनुसन्धानकर्ताहरूले काइँयोमा फरक उचाइका इलेक्ट्रोड जडान गरिएका विद्युतीय दाँत र औषधी राख्ने विशेष प्रणाली समावेश गरिएको बताएका छन् । यसले सामान्य बाह्य उपचारको तुलनामा नौ गुणासम्म गहिराइमा विद्युतीय प्रभाव पुर्याउन सक्छ ।

यसबाट कपालका जराका कोषहरूभित्र आवश्यक नियामक अणुहरू प्रभावकारी रूपमा पुर्याउन र कपालका जराको पुनः विकासमा सहयोग पुग्ने उनीहरूको निष्कर्ष छ ।

Share News