काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंकलाई उत्पादनशील क्षेत्रमा लगानी विस्तार, संस्थागत सुशासन सुदृढीकरण र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिएका छन् । नेपालको आधुनिक बैंकिङ प्रणालीको जगका रूपमा स्थापित नेपाल बैंकले आफ्नो ऐतिहासिक विरासतलाई भविष्यको सफलतामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल बैंकको ९०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बैंकको ९०औं वर्ष प्रवेश नेपालको समग्र वित्तीय क्षेत्रकै लागि ऐतिहासिक उपलब्धि भएको बताए । अर्थशास्त्रसँगै इतिहासमा पनि रुचि राख्ने उनले बैंक स्थापना हुँदाको ऐतिहासिक दस्तावेज अध्ययन गर्दा त्यसबेलाको उद्देश्य अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पाएको उल्लेख गरे ।
उनका अनुसार विसं १९९४ मा नेपालमा बैंक नहुँदा मुलुकको आर्थिक उन्नतिमा बाधा पुगेको र जनताले आवश्यक सुविधा प्राप्त गर्न नसकेको अवस्थालाई सम्बोधन गर्न नेपाल बैंक स्थापना गरिएको थियो । बैंक स्थापनासम्बन्धी तत्कालीन कानुनी व्यवस्थामा आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको समृद्धिलाई मुख्य उद्देश्य बनाइएको थियो ।
वाग्लेले त्यसबेलाको उद्देश्य र अहिले सरकारले अघि सारेका आर्थिक विकासका प्राथमिकताबीच समानता रहेको उल्लेख गर्दै कतिपय राष्ट्रिय उद्देश्य समयसँगै परिवर्तन नहुने बताए । नेपाल बैंकले नौ दशकको यात्रामा निक्षेप परिचालन, कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार तथा मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ । इतिहासको गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु अहिलेको साझा जिम्मेवारी रहेको उनले बताए ।

नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारमा सबै क्षेत्र केन्द्रित हुनुपर्ने बताए ।
नेपाल बैंकका लागि तीन सुझाव
सरकारले अघि सारेको वित्तीय क्षेत्र रणनीति तथा निर्धारित मार्गचित्रअनुसार नेपाल बैंकजस्तो अग्रणी सरकारी बैंकले तीनवटा सुधारका एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने अर्थमन्त्री वाग्लेको सुझाव छ ।
पहिलो, उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालनः बैंकिङ क्षेत्रको सफलता निक्षेप र कर्जाको आकारले मात्रै होइन, राष्ट्रिय उत्पादन, रोजगारीमा पुर्याएको योगदानबाट पनि मापन हुनुपर्छ । कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अपरिहार्य छ । कृषि, जलविद्यतु, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना मझौला उद्यममा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।
दोस्रो, संस्थागत सुशासन र वित्तीय अनुशासनः जनविश्वास कायम गर्न पारदर्शीता, जवाफदेहीता, व्यवसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन कायम गर्न आवश्यक छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बढाउनुपर्छ । सरकारी स्वामित्वको बैंक भएकाले नेपाल बैंकले सुशासन र व्यवसायीक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्छ ।
तेस्रो, डिजिटल रुपान्तरण र वित्तीय समावेशीकरणः बदलिँदो प्रविधि र ग्राहकको अपेक्षा अनुरूप बैंकिङ सेवालाई सरल, सुरक्षित र छिटो र प्रविधिमैत्री बनाउन आवश्यक छ । डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिनुपर्छ । साथै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्छ ।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेपाल बैंकले आफ्नो ऐतिहासिक पहिचानलाई कायम राख्दै बदलिँदो आर्थिक आवश्यकता, प्रविधि र वित्तीय बजारको प्रतिस्पर्धाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।