एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

उनले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गराउनु रहेको बताएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रिय भेला निर्णय गर्ने निकाय नभई भएका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।

उनका अनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटीमा रहनेछ । आवश्यकताअनुसार केन्द्रीय कमिटीले पनि नयाँ निर्णय गर्न सक्ने भए पनि राष्ट्रिय भेलाबाट भने कुनै नयाँ निर्णय नहुने उनले स्पष्ट पारे ।

पोखरेलले राष्ट्रिय भेलाले पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक लयमा अघि बढाउने र पार्टीले लिएका निर्णयको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने बताए ।

महासचिव पोखरेलले भने, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन । यो पार्टीले यसअघि गरेका निर्णयलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिङ्गो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो । नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीलाई हुन्छ ।’

एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ । 

Share News