एमालेको राष्ट्रिय भेलालाई ओली र भण्डारीले सम्बोधन गर्ने

स्थानीय निर्वाचनको तयारी, पार्टी शुद्धीकरण र सङ्गठनात्मक एकता मुख्य एजेन्डा

फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले पार्टीको सङ्गठनात्मक एकता सुदृढ गर्ने, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने र बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको भावी कार्यदिशा तय गर्ने उद्देश्यसहित मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

भेलामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ । 

आचार्यका अनुसार पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्वसम्म तथा संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुने गरी आयोजना गरिएको यो पहिलो राष्ट्रिय भेला हो ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवास कमिटीका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । 

त्यस्तै, संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको पनि सहभागिता रहनेछ ।

एमालेले भेलालाई आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीसँग जोडेको छ । सहभागीहरूले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखितरूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । 

उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ काम कार्यान्वयनका विषयमा पनि मार्गदर्शन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।

भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन् । 

महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनको कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

एमालेले भदौ २०८२ मा भएका आगजनी, तोडफोड र लुटपाटका घटनादेखि फागुनमा सम्पन्न निर्वाचन र त्यसपछि गठित सरकारका कामकारबाहीसम्मले मुलुकको राजनीतिक वातावरण जटिल बनेको निष्कर्ष निकालेको छ । 

लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र नागरिक अधिकारका विषयमा प्रश्न उठिरहेको तथा सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढेको एमालेको दाबी छ ।

Share News