काठमाडौं । सुनको लिक्विडसहित एक चिनिया नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । आइतबार बिहान हङकङबाट आएका ४२ वर्षीय झ्वान गुविङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
गुविङलाई ६३५.९६ ग्राम सुनको लिक्विड लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई भन्सार छलेर ल्याएको अवस्थामा विमानस्थलको एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी आइतबार बेलुकी साढे ९ बजे क्याथे प्यासेफिकको विमानबाट काठमाडौं आएका थिए । प्रहरीले उनलाई अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा लगेर राखेको छ ।
एक महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ किलो ७५०. ६८ ग्राम सुनजस्तो देखिने लेसिलो तथा अर्धप्रशोधित (लिक्विडजस्तो) पहेँलो धातुसहित ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
बूढानीलकण्ठ नगरपालिका-२ स्थित माथिल्लो भंगालमा भाडाको घर लिएर अवैध रूपमा सुन प्रशोधन र तस्करी गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।