जनताको कुरा सुन्न दुईमहिने मेची-महाकाली पदयात्रामा अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताका समस्या र गुनासा सुन्न दुईमहिने मेची–महाकाली पदयात्राका लागि मेची प्रस्थान गरेका छन् ।

जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताका वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेची नदीको किनारबाट सुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर समापन हुने जानकारी दिए ।

उनले पदयात्रालाई देश र समाज जोड्ने अभियानका रूपमा व्याख्या गरे । जात, धर्म, पहाड–मधेस तथा वर्ग र समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ ।

सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताए । अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको उल्लेख गर्दै उनले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने बताए । 

Share News