तीन महिनामा ४२ अर्ब वैदेशिक सहायता, अनुदानभन्दा ऋण बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो ।

असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शीर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ ।

त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ ।

ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ । असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । भदौमा १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ र असोजमा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । पहिलो त्रैमासमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सीमित रहेको देखाएको छ । 

Share News