‘कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो’

फाइल तस्बिर ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।

हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य वंशद्वारा लिखित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाहरूको संग्रह’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको उल्लेख गरे । 

उनले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए ।

काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनको भनाइ थियो । 

यस्ता मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पुर्याएको उनले बताए ।

अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे । 

परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

उनले सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरूको साझा जिम्मेवारी भएको धारणा राखे । 

संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए ।

परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । 

पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै अग्रवालले सम्पदामा आधारित पर्यटनको प्रवद्र्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । 

सांस्कृतिक सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोड्न सके यसले दिगो आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा थियो । 

अध्यक्ष अग्रवालले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा यस कार्यमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा धन्यवाद दिँदै यस्ता अनुसन्धानमूलक प्रकाशनले नेपालको कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई केवल विगतको इतिहास जोगाउने कार्यका रूपमा नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।

Share News