कोष व्यवस्थापन कम्पनीको १०.५० प्रतिशत लाभांश पारित

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजित सभाले शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पनि अनुमोदन गरेको छ । साथै, कम्पनीको पूँजी वृद्धि योजनासहित प्रस्तुत अन्य प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ।

सभाको अध्यक्षता कम्पनीका सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँले गरेका थिए। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू सरिता कुमारी पोखरेल, नारायणप्रसाद आचार्य, बलराम पौडेल र दिल बस्नेतको उपस्थिति थियो।

त्यसैगरी, कम्पनीको प्रमुख संस्थापक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, लेखापरीक्षक मुरलीधर तिवारी, कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधि तथा कृषि विकास बैंकका प्रतिनिधि हेमलाल पौडेल सहभागी थिए। सभाको सञ्चालन कम्पनी सचिव राजेन्द्र पराजुलीले गरेका थिए।

सभामा शेयरधनीका तर्फबाट एकबहादुर बस्नेत, जनार्दन बाबु कट्टेल र डा. राजन थापाले कम्पनीको वित्तीय अवस्था, कार्यसम्पादन तथा आगामी योजनाबारे धारणा राखेका थिए।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कम्पनीमा अवसरसँगै चुनौती पनि रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लाभांश दिन सक्ने गरी काम गर्न शुभकामना व्यक्त गरेका थिए।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख रुपैयाँबाट बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ। यही पूँजीका आधारमा १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।

वार्षिक प्रतिवेदनअनुसार कम्पनीको लगानी पोर्टफोलियोको कुल उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको छ।

कृषि विकास बैंक लिमिटेडद्वारा स्थापित तथा प्रवर्द्धित कम्पनीले बैंक निक्षेप, ऋणपत्र, विभिन्न कम्पनीका शेयर तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा लगानी व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ। 

Share News