काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम- एनटीसी) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३७.३५ प्रतिशतले बढी हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा करिब ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो ।
नाफामा उल्लेख्य सुधार देखिए पनि कम्पनीको मुख्य आम्दानी स्रोत भने लगभग स्थिर रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ग्राहकसँगको सम्झौताबाट कम्पनीले ८ अर्ब ६७ करोड ८२ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ थियो ।
यद्यपि, वित्तीय आम्दानीमा भएको वृद्धिले कम्पनीको कुल आम्दानीलाई सकारात्मक राख्न सहयोग गरेको छ । समीक्षा अवधिमा कम्पनीले वित्तीय आम्दानीबाट ६८ करोड ६७ लाख ७१ हजार रुपैयाँ प्राप्त गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड ९ लाख रुपैयाँ थियो ।
त्यस्तै, अन्य आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ६ लाख ३५ हजार रुपैयाँ रहेको अन्य आम्दानी चालु आर्थिक वर्षमा घटेर ११ करोड २६ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ ।
यी सबै स्रोतबाट कम्पनीको कुल आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ४७ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ थियो ।
खर्चतर्फ भने कर्मचारी खर्च बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८६ करोड ३७ लाख २७ हजार रुपैयाँ रहेको कर्मचारी खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ११ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, सञ्चालन तथा मर्मतसम्भार खर्च १ अर्ब ५२ करोड ५२ लाख ६१ हजार रुपैयाँबाट बढेर १ अर्ब ६१ करोड २३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बिक्री सञ्जाल, बजारीकरण तथा प्रवद्र्धन खर्च पनि ८ करोड ५५ लाख ४६ हजार रुपैयाँबाट बढेर १४ करोड ७१ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
कार्यालय सञ्चालन खर्चमा भने कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख ९८ हजार रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षमा घटेर २९ करोड ७४ लाख ४१ हजार रुपैयाँमा झरेको छ ।
नियामकीय शुल्क, दस्तुर तथा नवीकरण खर्च भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब १७ लाख ९७ हजार रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ रुपैयाँ ४५ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा बढेर ४० रुपैयाँ ४५ पैसा पुगेको छ । यसले कम्पनीको प्रतिसेयर आम्दानीमा ११ रुपैयाँले वृद्धि भएको देखाउँछ ।
कम्पनीको मूल्य आम्दानी अनुपात २२.७५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५६७ रुपैयाँ ६५ पैसा छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल टेलिकमको जगेडा कोषमा ८४ अर्ब १७ करोड ६८ लाख ११ हजार रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ८२ अर्ब ३५ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा जगेडा कोषमा करिब १ अर्ब ८२ करोड रुपैयाँ वृद्धि भएको छ ।