काठमाडौं । आजभन्दा ८९ वर्षअघि नेपालमा बैंकिङ सेवा सीमित थियो । सर्वसाधारणका लागि बैंक भन्ने शब्द नै नौलो थियो । बचत गर्ने बानीको विकास भइसकेको थिएन भने औद्योगिक तथा व्यापारिक गतिविधिलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने संस्थागत संरचना पनि कमजोर थियो । यही पृष्ठभूमिमा केही लगानीकर्ताको पहलमा स्थापना भएको नेपाल बैंक लिमिटेडले अहिले आफ्नो यात्राको ९०औँ वर्ष सुरु गरेको छ ।
नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंकले आज २०८३ कात्तिक ३० गतेदेखि ९०औँ वर्षमा प्रवेश गरेको हो । ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । स्थापनाको झन्डै नौ दशकमा बैंकले आफ्नो वित्तीय आकार मात्र बढाएको छैन, नेपालको बैंकिङ प्रणालीको विकास र विस्तारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
वि.सं १९९४ कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार १० जना लगानीकर्ताले नेपाल बैंक स्थापना गरेका थिए । त्यतिबेला बैंकिङ सेवा सर्वसाधारणको पहुँचमा थिएन । वित्तीय कारोबार नगदमा निर्भर थियो भने बचत तथा कर्जाको औपचारिक अभ्यास पनि सीमित थियो । यस्तो अवस्थामा स्थापना भएको नेपाल बैंकले सर्वसाधारणमा बचत गर्ने संस्कृतिको विकास गर्नेदेखि व्यापार व्यवसाय र उद्योगधन्दालाई वित्तीय पहुँच उपलब्ध गराउनेसम्मको काममा अग्रणी भूमिका निर्वाह गर्यो ।
नेपाल बैंकको इतिहास केवल एउटा वित्तीय संस्थाको स्थापना र विस्तारको कथा मात्र होइन । यो नेपालको आधुनिक बैंकिङ प्रणालीको विकाससँग जोडिएको इतिहास पनि हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले केन्द्रीय बैंकको समेत भूमिका निर्वाह गरेको थियो । स्थापना भएको दुई दशकसम्म बैंकले देशको मौद्रिक तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्यो ।
वि.सं २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि नेपाल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसबेला देशको वित्तीय कारोबार व्यवस्थित गर्ने, मुद्राको प्रयोग विस्तार गर्ने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढाउने काममा बैंकको योगदान उल्लेखनीय रह्यो ।
नेपाल राष्ट्र बैंक स्थापना भएपछि केन्द्रीय बैंकको जिम्मेवारी छुट्टिए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा आफ्नो सेवा विस्तारलाई निरन्तरता दियो । सरकारी तथा निजी क्षेत्रका वित्तीय आवश्यकतादेखि सर्वसाधारणको निक्षेप र कर्जासम्म बैंकले आफ्नो उपस्थिति कायम राख्यो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार स्थापना कालदेखि नै निरन्तर सेवा प्रवाह गर्दै आएको नेपाल बैंक बैंकिङ क्षेत्रको पर्यायका रूपमा स्थापित भएको छ । उनका अनुसार बैंकले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
बैंकको पूँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात ६२.८५ प्रतिशत छ ।
पछिल्लो तथ्याङ्कअनुसार बैंकका ग्राहक संख्या करिब २९ लाख २४ हजार पुगेको छ । बालबालिकादेखि युवापुस्ता, रोजगारीमा रहेका व्यक्ति, व्यवसायी तथा ज्येष्ठ नागरिकसम्म बैंकको सेवा उपयोग गरिरहेका छन् । सरकारी बैंकिङ कारोबारसमेत सञ्चालन गर्ने जिम्मेवारी पाएको नेपाल बैंकले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्दै वित्तीय सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने प्रयास गरेको छ । हाल बैंकका २३० वटा शाखा र ५७ वटा विस्तारित काउन्टर सञ्चालनमा छन् । त्यस्तै, २५० वटा स्वचालित नगद वितरण केन्द्रमार्फत ग्राहकलाई नगद कारोबारको सुविधा उपलब्ध गराइएको छ ।
बैंकमा करिब तीन हजार ६०० कर्मचारी कार्यरत छन् । यसमा बाह्य स्रोतबाट सेवा लिइएका कर्मचारीसमेत समावेश छन् ।
बैंकिङ सेवा प्रविधिमैत्री बन्दै जाँदा नेपाल बैंकले पनि डिजिटल माध्यमबाट सेवा विस्तार गरिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या १० लाख पुगेको छ ।
शाखामै उपस्थित भएर गर्नुपर्ने कारोबारलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयासले ग्राहकलाई समय र लागत बचत गर्ने सुविधा दिएको छ । मोबाइल बैंकिङ तथा स्वचालित नगद वितरण केन्द्रको विस्तारले बैंकको सेवा प्रवाहलाई थप सहज बनाएको छ ।
विशेषगरी नयाँ पुस्ताका ग्राहकलाई डिजिटल माध्यमबाट जोड्ने र परम्परागत बैंकिङ सेवालाई प्रविधिसँग समायोजन गर्ने चुनौती बैंकका लागि महत्वपूर्ण बनेको छ ।