काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
शुक्रबार भएको समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका अनुसार यस सहकार्यबाट ग्राहकले विशेष सुविधा प्राप्त गर्नुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।
बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन र ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा उपलब्ध हुने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै विभिन्न सेवा विस्तार गरिरहेको छ ।
बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरूलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ ।
यसका साथै बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा पनि बैंकले सुरु गरेको छ ।
हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।