काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज कात्तिक २७ गते २० दिनका लागि २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन पेस गर्नुपर्नेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाने गरी निर्धारण गर्नुपर्नेछ ।
निक्षेप संकलन उपकरण बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ । समान ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूको कुल माग आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सक्नेछन् ।