काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ५१९औँ बैठकले चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ ।
बैंकले १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७ रुपैयाँ २० पैसा चुक्ता पुँजीको ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि नगद लाभांश दिने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १८० दिनका लागि समानुपातिक रूपमा गणना गरिएको बैंकले जनाएको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्न आगामी मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस हुनेछ ।