काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको लो-स्कोरिङ भिडन्तमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै प्लेअफ यात्रा तय गरेको हो ।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्सविरुद्ध खेल्नेछ ।
अर्कोतर्फ, सुरुवाती दुई खेल जितेपछि लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने निकै कमजोर बनेको छ । ६ खेलबाट ४ अंक मात्र जोडेको कर्णाली तालिकाको सातौं स्थानमा छ ।
कर्णालीले प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने निकै खराब रह्यो ।
आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो ।
तर, ओपनर डार्शी सर्टले एक छेउबाट इनिङ्स सम्हाल्दै टोलीलाई जितको बाटो देखाए । अर्धशतक बनाउनबाट मात्र ४ रनले चुकेका सर्टले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४६ रनको योगदान दिए ।
सर्टले चौथो विकेटका लागि निरोशन डिकवेलासँग ४१ रनको महत्वपूर्ण साझेदारी गरे । डिकवेलाले १३ बलमा २ चौकासहित १६ रन बनाए । सर्ट १४औं ओभरमा आउट भएपछि दिलीप नाथले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए ।
शमिम हुसेन ५ रनमा आउट भए पनि दिलीपले २७ बलमा ४ चौका प्रहार गर्दै अविजित २८ रन बनाए । उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरेका थिए ।
बलिङतर्फ कर्णालीका मार्क वाटले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । पवन सर्राफ र हुसेन तलतले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनीको धारिलो बलिङसामु निरीह बन्दै १९.२ ओभरमा १०५ रनमै अलआउट भयो । मात्र १५ रन जोड्दा ४ विकेट गुमाएर संकटमा परेको कर्णालीका लागि सोमपाल कामी र पवन सर्राफले ४० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए ।
कर्णालीका लागि सोमपालले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोडे भने हुसेन तलतले २२ बलमा २ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए । त्यस्तै, गुल्सन झाले १३ र पवन सर्राफले २४ बलमा १२ रन जोडे ।
कर्णालीका अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजनको पहिलो खेल खेल्दै ओपनिङमा आएका दीपेन्द्र रावत शून्यमै आउट भए भने नयाँ कप्तान डेभिड मिलर ५, अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नन्दन यादव ३ तथा मार्क वाट २ रनमा पभेलियन फर्किए ।
कर्णालीलाई सस्तैमा समेट्न लुम्बिनीका अभिषेक गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २–२ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र शेर मल्लको नाममा १–१ विकेट रह्यो ।