काठमाडौं । कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहितको ६ विकेटको ऐतिहासिक बलिङ प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरको जितमा मध्यक्रमका ब्याटर बसिर अहमदले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको संयमित इनिङ्स खेले भने ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे ।
इनिङ्सको अन्त्यतिर दबाबमा परेको विराटनगरलाई आठौं नम्बरमा ब्याटिङ गर्न आएका इसुरु उडानाले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २५ रन बनाएर जित दिलाए ।
उनलाई सातौं नम्बरका शेहान जयासूर्याले १४ बलमा २ चौकासहित अविजित १७ रन बनाएर बलियो साथ दिए ।
अन्य ब्याटरमध्ये इमरान शेखले १० र एन्जेलो म्याथ्युजले ८ रन जोडे भने चरिथ असलंका र प्रतिश जिसी शून्यमै आउट भए। बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा ओपनर युवराज सिंह सम्राको आक्रामक अर्धशतकका बावजुद १७.५ ओभरमा १३२ रनमै अलआउट भएको थियो ।
पोखराका लागि सम्राले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ८४ रन बनाए। ७६–५ को नाजुक अवस्थाबाट सम्रा र धनन्जय लक्षणले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकास्ने प्रयास गरेका थिए ।
धनन्जयले १५ बलमा २२ र सन्नी विकले ११ बलमा १२ रन जोड्नुबाहेक पोखराका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
अर्जुन घर्ती र बिपिन खत्री समान ५ तथा अर्जुन कुमाल १ रनमा आउट हुँदा कप्तान चमिका करुणारत्ने, कुशल भुर्तेल, रमेश मेन्डिस र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् ।
पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।

यसअघि ५ खेलमा १ विकेट मात्र लिएका सन्दीप यो प्रदर्शनसँगै एनपीएलमा ह्याट्रिक र एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले ह्याट्रिक लिएका थिए भने एकै खेलमा ६ विकेट लिने कीर्तिमान शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोको नाममा थियो ।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि १–१ विकेट हात पारे । यस जितसँगै ६ खेलबाट ३ जित र ३ हारसहित ६ अंक जोडेको विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफको सम्भावना जीवितै राख्न सफल भएको छ ।
विराटनगरले अब लिगको अन्तिम खेलमा लुम्बिनी लायन्सको सामना गर्नेछ । अर्कोतर्फ, छैटौं खेलमा पाँचौं हार बेहोरेको पोखरा २ अंकसहित पुछारमा रहँदै जारी सिजनको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।