काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ कारण आफ्नो टोली पछि परिरहेका बताएका छन् ।
पोखरा एभेन्जर्समाथि जितपछि पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो टोलीले राम्रो खेलिरहे पनि फिल्डिङ चुकिरहेको बताएका हुन् ।
तर आफ्ना खेलाडीले उत्कृष्ट इफोर्ट भने लगाएको उनको विश्वास छ । विराटनगरकै खेलमा भिजेको मैदानका कारण पनि समस्या भएको सन्दीपले उल्लेख गरे ।
तर यही बाहना गर्न नहुने र टोलीले सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले आगामी अन्तिम खेलमा राम्रो खेल्दै प्लेअफमा पुग्ने विश्वास पनि व्यक्त गरे ।
पोखरासँगको पनि खेलमा हारको संघारमा पुगिसकेको अवस्थामा इसुरु उडनाले उत्कृष्ट ब्याटिङ गरेको उनको भनाइ छ ।
आन्द्रे रसेल जस्ता खेलाडीलाई टोलीले अभाव महशुस गरे पनि उडनाले उनको स्थानमा राम्रो खेलेको उनी बताउँछन् ।
यसअघिको खेलमा विकेट नआएको उल्लेख गर्दै सन्दीपले आफ्नो क्षमतामा भने विश्वास रहेको बताए ।
यसअघिको खेलमा पनि राम्रो बलिङ गरेको उनी बताउँछन् । तर त्यो खेलमा विकेट भने आउने नसकेको उनले उल्लेख गरे ।