काठमाडौं । कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । गुल्सन झाले १३ रन बनाउँदा पवन सर्राफले १२ रनको योगदान दिए ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेल्दै सुरुआती ब्याटिङमा आएका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान चार रनमा आउट हुँदा नयाँ कप्तान डेभिड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन मात्र बनाउन सके ।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए । त्यस्तै, रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक-एक विकेट हात पारे ।
लुम्बिनीका बलरको कसिलो प्रदर्शनका कारण कर्णालीले निर्धारित २० ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाएको हो । अब लुम्बिनीले जितका लागि १०६ रन बनाउनुपर्नेछ ।