काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिने छन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अङ्कसहित विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।
पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको पोखरा चार खेलमा पराजित हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । कर्णाली अङ्क तालिकाको सातौं स्थानमा रहेको छ ।
लुम्बिनीले पाँच खेलमध्ये तीन खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ । वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनीले अङ्क बाँडेको थियो । लुम्बिनी अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजका दुवै खेल अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्ने टोलीका लागि महत्त्वपूर्ण हुनेछन् ।