युवराजको ऐतिहासिक शतकमा पोखराको पहिलो जित

कर्णाली ६३ रनले पराजित

काठमाडौं । युवराज सिंह सम्राको सानदार शतक र कुशल भुर्तेलसँगको कीर्तिमान साझेदारीको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै अंकको खाता खोलेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रनको विशाल योगफल तयार पारेको थियो । यो यस सिजनको सर्बाधिक र एनपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो ।

पोखराका लागि क्यानेडियन ओपनर युवराज सिंह सम्राले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको शतकीय इनिङ्स खेले । उनी जारी एनपीएल सिजनमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । 

त्यस्तै, कुशल भुर्तेलले ३९ बलमा ७ छक्का प्रहार गर्दै ६२ रन बनाए। दोस्रो विकेटका लागि युवराज र कुशलले १३६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई उच्च योगफलतर्फ अग्रसर गराएका थिए ।

त्यसपछि कप्तान चमिका करुणारत्नेले ११ बलमै ३ चौका र ३ छक्कासहित अविजित २५ रनको आक्रामक क्यामियो खेलेपछि पोखराले २ सय रनको आँकडा पार गरेको थियो । कर्णालीतर्फ कप्तान सोमपाल कामीले २ र मार्क वाटले १ विकेट लिए ।

२१८ रनको भारी लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले १८.३ ओभरमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए भने अरिफुल इस्लामले २४ र दीपक डुम्रेले २२ रन जोडे । कप्तान सोमपाल कामी २१ रन बनाएर आउट भए ।

उनी एनपीएल इतिहासमै दुर्लभ मानिने ’अब्सट्रक्टिङ द फिल्ड’ (बललाई दोस्रो पटक प्रहार गरेको कारण) आउट भएका हुन् । कर्णालीलाई सस्तोमै समेट्ने क्रममा पोखराका धनन्जय लक्षणले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट हात पारे ।

यसैगरी धनन्जय (बलिङतर्फ) र कुशल भुर्तेलले २-२ तथा विपिन खत्रीले १ विकेट लिए । निरन्तर चार हार ब्योहोरेको पोखराले अन्ततः पहिलो जित निकाल्दै प्लेअफको सम्भावनालाई जीवित राखेको छ भने, उत्कृष्ट सुरुआत गरेको कर्णालीको यो लगातार तेस्रो हार हो । 

Share News