एनपीएलमा लोकेश बम शीर्ष ब्याटर, हरमित बने सर्वाधिक विकेटकर्ता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका खेलहरू अन्तिम चरणमा पुगेका छन् । कुल २८ खेलमध्ये हालसम्म २१ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ७ खेल आगामी चार दिनमा हुनेछन् । 

जारी प्रतियोगितामा हालसम्मको व्यक्तिगत प्रदर्शन हेर्दा ब्याटिङतर्फ विराटनगर किंग्सका लोकेश बम शीर्षस्थानमा रहेका छन् । उनले ५ खेलमा २ अर्धशतकसहित सर्वाधिक १९४ रन (उच्च स्कोर ८७) बनाएका छन् । 

बमलाई १७१ रन बनाएका चितवन राइनोजका रवि बोपाराले पछ्याइरहेका छन् भने १४४ रन बनाएका एन्ड्रे रसेल तेस्रो स्थानमा छन् । त्यसैगरी, १४३ रनसहित अरिफुल इस्लाम चौथो, १४० रन जोडेका सैफ हसन पाँचौं र समान १४० रन नै बनाएका पवन सर्राफ छैटौं स्थानमा छन् । 

यसैगरी, कुशल भुर्ते (१३६ रन) सातौं, डेविड वार्नर (१२७ रन) आठौं, ब्रेन्डन म्याकमुलेन (१२४ रन) नवौं र प्रतियोगितामा एक्लो शतक प्रहार गरेका युवराज शर्मा (१२१ रन) दशौं स्थानमा रहेका छन् । 

यसबाहेक रशिद खान (१२०), डेविड मलान (११४), तृतराज दास (११२), मोइन अली (१०८), तथा डेविड मिलर र इम्रान शेख (दुवैको १००-०० रन) ले पनि सयभन्दा बढी रन बनाएका छन् । 

बलिङतर्फ जनकपुर बोल्ट्सका हरमित सिंह ६ खेलमा ११ विकेट लिँदै शीर्षस्थानमा छन् । उनलाई १० विकेट लिएका चितवनका रिजन ढकालले पछ्याएका छन् । 

नौ–नौ विकेट लिनेमा कमलसिंह ऐरी, राहुल यादव र सोमपाल कामी रहेका छन् भने शेर मल्ल, अनिल खरेल, जहानदाद खान र स्कट कुगेलजिनले समान ८-८ विकेट लिएका छन् । 

यसैगरी, ७ विकेट लिने जनकपुरका मोइन अली दशौं स्थानमा छन् । लिग चरणका बाँकी खेलअन्तर्गत बिहीबार मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Share News