काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।
समितिले दुर्घटनाका विभिन्न पक्षमा अनुसन्धान गर्नेछ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गरिने प्रजिअ अधिकारीले बताए ।
त्यस्तै, आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत प्रतिवेदनमा समेटिनेछ ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त उपाय नभएको उनको भनाइ छ ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।