छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै

काठमाडौं । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ।

छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको छ। जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ।

गंगासागरको धार्मिक तथा पर्यटकीय महत्त्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन्। गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ। पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताउनुभयो।

त्यस्तै, गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ। समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ।

समितिले यस वर्षको तयारी लगभग पूरा भएको र छठ पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरू परिचालन गरिने जनाएको छ।

यसैबीच, यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न आउन सक्ने चर्चा रहेको समितिले जनाएको छ। उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरको अगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ।

समितिले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको छ। जनकपुरधामका पोखरी तथा घाटहरूमा छठ पूजाका लागि भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ।

नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठीमाताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ। 

Share News