काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार थिए । बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव यसअघि नै हेटौंडा अस्पताल ल्याइएको थियो । दुर्घटनास्थलबाट थप तीन जनाको शव केहीबेरअघि फेला परेको डीएसपी थापाले जानकारी दिए । उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डल (चालक) को पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।
बाँकी तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । रिफर हुनेमा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छ न्।
उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।