छठ पर्वमा सुरक्षा चुनौती नहोस् भनेर धनुषामा विशेष सुरक्षा योजना

काठमाडौं । दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ ।  छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । 

बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए ।

उनकाअनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन् । सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाएको छ । 

छठ पूजा समितिहरूसँग पनि निरन्तर समन्वय र छलफल भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी लुइँटेलले धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचारालाई कायम राख्दै छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन सबै धर्मावलम्बी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरे । 

यसैबीच, जनकपुरधाममा छठ पूजामा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनसक्ने सूचनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा व्यवस्थापनको तयारी गरेको छ । 

उनका अनुसार विभिन्न राजनीतिक दल तथा सञ्चारमाध्यमबाट विशिष्ट व्यक्तित्वहरूको आगमनबारे जानकारी प्राप्त भएको छ । उनीहरूको आगमनको मिति र सहभागी हुने व्यक्तिहरू निश्चित भएपछि थप सुरक्षा तथा व्यवस्थापकीय प्रवन्ध मिलाइनेछ । 

उनले भने, ‘दीपावली तथा तिहारलगत्तै मनाइने मिथिलाञ्चलसहित नेपालकै महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा तीव्र रूपमा भइरहेको छ । विभिन्न पोखरी, नदी किनार तथा छठ घाटहरूको सरसफाइ र व्यवस्थापन कार्य जारी छ । जिल्ला सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरी जिल्लाभर शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ ।’

प्रमुख जिल्ला अधिकारी लुइँटेलले विशिष्ट व्यक्तित्वहरूको आगमनका कारण सर्वसाधारण श्रद्धालुको नियमित पूजाआजामा कुनै असर नपर्ने स्पष्ट पारे । आम नागरिकले विगतदेखि मनाउँदै आएको आस्था र परम्पराअनुसार छठ पूजा गर्न पाउने गरी व्यवस्थापन गरिने उनको भनाइ छ ।

Share News