काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिए ।
सांसदसमेत रहेका नेता झाले सभापति लामिछानेले जनकपुर आउने भएपछि तयारी तीव्र पारिएको बताए । उनकाअनुसार लामिछाने आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा छन् । लामीछाने पत्नी निकिता पौडेल लामिछानले खरनादेखि बिहानको अघ्र्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने उनले जानकारी दिए ।
लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा सदस्यका आफन्तको घर नभई सामान्य सर्वसाधारण नागरिकको घर रोज्न आग्रह गरेको पनि उनले जानकारी दिए । राजनीतिक आग्रह र प्रभावबाट मुक्त रहन यस्तो व्यवस्था गर्न खोजिएको उनको भनाइ छ । झाकाअनुसार भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिइने छैन । राजनीतिक कार्यक्रम नराखी सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उहाँले जानकारी दिए ।
उनले भने, ‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ । सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ । पार्टीको सदस्यको घरमा होइन कि सामान्य कोही नागरिकको घरमा सरिक हुने र त्यो पार्टीको सदस्य वा पार्टी सदस्यको आफन्त पनि नहोस् किनकि राजनीतिक आग्रहहरू त्यहाँ जोडिन सक्छ भन्ने उहाँको कुरा छ । उहाँको श्रीमतीले विधिवत् रूपमा खरनादेखि बिहानको अर्घसम्म सबै प्रक्रियाहरूमा व्रत बसेर सरिक हुने इच्छा राख्नुभएको छ । र त्यहीअनुसार हामीले तयारी गर्दैछौँ ।’
उनका अनुसार भीडभाड व्यवस्थापनलाई ध्यानमा छठ पुजाको व्यवस्थापन मिलाईएको छ । विगतमा जनकपुरमा विवाहपञ्चमी लगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको, सर्वसाधारणलाई असहज भएको तथा सुरक्षा चुनौती देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको उनले जानकारी दिए । उनले प्रधानमन्त्री बालेन्द्र साहको जनकपुर भ्रमणबारे भने कुनै औपचारिक जानकारी नआएको बताए ।