काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवद्र्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनकाअनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उनको भनाई छ ।
दोस्रो पक्ष कृषि उत्पादनको प्रवद्र्धन रहेको उनले बताए । छठमा पूजाका सामग्री तथा प्रसादका रूपमा कृषि उपजको प्रयोग हुने भएकाले यसले कृषि उत्पादनको महत्व बढाउने उनको भनाई छ । त्यस्तै, छठ पर्वले सामाजिक समानताको सन्देश दिने उनले बताए ।
उनले जात, समुदाय र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी सबै मानिस एउटै पोखरीमा समान रूपमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उल्लेख गरे ।
छठ पर्वको अर्को महत्वपूर्ण पाटो अनुशासन सिकाउनु रहेको उहाँको भनाई छ । पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र अनुशासन पालना गर्दै छठ पर्व मनाउने परम्परा रहेको उनले बताए ।
छठ पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत नजिक ल्याउने उनले बताए । देश तथा विदेशमा रहेका मानिसहरू छठ मनाउन आफ्नो घर फर्किने भएकाले यसले पारिवारिक एकता र आत्मीयता बढाउने उनको भनाई छ ।
पहिले मुख्यतः मधेस क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौं, पोखरा, बुटवल र धरानलगायतका सहरमा समेत विस्तार भएको उनले बताए ।