काठमाडौं । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज अपराह्नदेखि उक्त चक्रवातको प्रभाव क्रमिक रूपमा कम हुँदै जाने महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ । आज राति भने हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्भावित वर्षा र खराब मौसमलाई मध्यनजर गर्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न अनुरोध गरेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ ।
सो क्षेत्रमा पुगिसकेका पर्यटकलाई पनि मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमै रहन भनिएको छ । वर्षासँगै चिसो बढ्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।