बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन

रातभर जाग्राम बस्छ भार्खु, बाढीपछि पहिरोको त्रास

चेङगा तामाङ ।

रसुवा । रात पर्नासाथ सानो भार्खुकी चेङ्गा तामाङलाई निद्रा लाग्दैन । घरमाथि पहिरो खस्ने हो कि गाउँको तलबाट भइरहेको कटानले बस्ती नै बगाउने हो कि भन्ने डरले उनी रातभर जाग्राम बस्छिन् । बाढीको त्रासबाट जोगिन दिनमा गाउँ आउने र राति आफन्तको घरमा गएर सुत्ने उनको दैनिकी बनेको छ ।

‘अहिले त बजार पनि छैन । बाढी आउने हो कि भनेर चिन्तामा बस्नुपरेको छ । बाढी आयो भने हामी कहाँ भाग्ने ? भाग्ने ठाउँ नै छैन,’ चेङ्गा दुःखी हुँदै भन्छिन्, ‘तलको भिर र पहिरो खस्यो भने त यहाँबाट सिधै लैजान्छ । राति सुत्न पनि सकेका छैनौं ।’

भदौ १० गतेको बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ठूलो भार्खु र सानो भार्खुका बासिन्दाको जीवन यस्तै त्रास, अभाव र अनिश्चितताबीच बितिरहेको छ । बाढीले गाउँको तलबाट कटान गरिरहेको छ भने माथिल्लो भागमा पहिरोको जोखिम बढेको छ । सुरक्षित स्थानमा जाने विकल्प नहुँदा स्थानीय जोखिमकै बीच गाउँमा बस्न बाध्य छन् । 

बाढीले स्याफ्रुबेंसी बजार र त्यहाँ पुग्ने मुख्य सडक संरचना बगाएपछि भार्खुवासीको समस्या झन् गहिरिएको छ । गाउँमा उत्पादन हुने आलु, सिमी, बन्दा, काउलीलगायत तरकारी तथा अन्य स्थानीय उत्पादन बिक्री गर्ने बजार छैन । बजारसम्म सामान लैजान यातायातको सुविधा छैन । पहिले स्याफ्रुबेंसी बजारमै बिक्री गरेर घरखर्च चलाउने परिवार अहिले राहतको भरमा बस्नुपर्ने अवस्थामा पुगेका छन् ।

चेङ्गाका अनुसार पहिले गाउँमा उत्पादन भएको तरकारी, आलु तथा अन्य स्थानीय उत्पादन स्याफ्रुबेंसी बजारमा लगेर बिक्री गर्दा परिवारको गुजारा चल्थ्यो । अहिले बजार नै बाढीले बगाएपछि आम्दानीको बाटो बन्द भएको छ ।

‘पहिला महिनामा २०-२५ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । अहिले राहतको सहारामा बाँच्नुपरेको छ,’ उनी भन्छिन्, ‘अन्त जाऊँ भने जाने ठाउँ पनि छैन । एक महिना हुन लाग्यो, खाने-लाउने र घर चलाउनै धौधौ परेको छ ।’

बाढी आएको दिनदेखि आवश्यक सामान आफन्तको घरमा राखिएको र आफूहरू दिनमा मात्र गाउँमा आउने गरेको उनले बताइन् । ‘हामी दिउँसो काम गर्न गाउँमा आउँछौं, राति सुत्न आफन्तको घरमा जान्छौं,’ उनले भनिन् । 

null

बजार बग्यो, ढुवानी महँगियो

ठूलो भार्खुका स्थानीय किप्पा छिरिङ तामाङको समस्या पनि उस्तै छ । गाउँको तलबाट नदीले निरन्तर कटान गरिरहेको छ । कतिबेला बस्ती नै भासिने हो भन्ने चिन्ता गाउँका सबै परिवारमा छ ।

‘तलबाट बाढीले कटान गरिरहेको छ । कतिबेला बस्ती नै भासिने हो भन्ने पीर सबै गाउँका मानिसलाई परेको छ,’ उनी भन्छन् । 

बाढीपछि गाउँलेले करिब १० दिनसम्म विद्युत् सेवासमेत पाउन सकेनन् । स्याफ्रुबेसी बजारका डिपो तथा मुख्य सडक बगाएपछि खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तु गाउँसम्म पुर्याउन कठिन भएको छ ।

‘एकातिर बत्तीको भर छैन, अर्कोतिर बाटो नभएर बाहिरबाट ग्यास तथा खाद्यान्न ल्याउन सकिएको छैन,’ किप्पा भन्छन्, ‘न गाउँमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन सकिएको छ । भएको एउटा स्याफ्रुबेंसी बजार पनि बगाइसक्यो । यो विपद्ले हामीलाई चारैतिरबाट घेरेको छ ।’

किप्पा २०६७ सालदेखि ठुलो भार्खुमा पसल सञ्चालन गर्दै आएका छन् । उनका अनुसार सडक अवरुद्ध भएपछि सामान ढुवानीको लागत आकासिएको छ ।

nullकिप्पा छिरिङ तामाङ । 

‘पहिला त्रिशूलीबाट ७ टन सामान ल्याउँदा १५ देखि २० हजार रुपैयाँ भाडा लाग्थ्यो । अहिले बाटो बिग्रिएर ३ टन सामान ल्याउँदा नै ८०/९० हजार रुपैयाँसम्म भाडा तिर्नुपर्छ,’ उनी भन्छन्, ‘बाटो नभएपछि न बाहिरबाट सामान ल्याउन सकिएको छ, न आफूले उत्पादन गरेका आलु, सिमी, बन्दा, काउलीलगायत तरकारी पुर्याउने बजार छ ।’

बजार र सडकको पहुँच टुट्दा गाउँको कृषि उत्पादन खेतमै थन्किने अवस्था आएको छ । उत्पादन बिक्री गर्न नसक्दा आम्दानी गुमेको छ भने बाहिरबाट सामान ल्याउँदा ढुवानी खर्च अत्यधिक बढेको छ । यसले स्थानीयको दैनिकी मात्र होइन, गाउँको समग्र जीविकोपार्जन प्रणाली नै प्रभावित बनाएको छ ।

बिरामी पर्दा कहाँ जाने ?

बाढीले बजारसँगै स्वास्थ्य सेवाको पहुँचसमेत खोसेपछि भार्खुवासी थप चिन्तित छन् । स्याफ्रुबेंसीमै रहेको स्वास्थ्य चौकी तथा एम्बुलेन्स सेवामा निर्भर रहेका स्थानीय अहिले सामान्य उपचारका लागि समेत जोखिम मोल्नुपर्ने अवस्थामा छन् ।

ठूलो भार्खुकी मेन्दो झल्प्यो गाउँमा दिनको समयमा मात्र आउने र राति आफन्तको घरमा बस्ने गरेको बताउँछिन् । 

nullसानाे भार्खु गाउँ । 

‘हामी स्थानीय काम गर्नका लागि मात्र गाउँमा आउँछौं, अरू बेला माथि घर भएका आफन्तको घरमा बसिरहेका छौं,’ उनी भन्छिन्, ‘हाम्रो मेडिकल, एम्बुलेन्स र हेल्थपोस्ट सबै यही स्यार्फुबेंसीमै थियो । अहिले केही पनि छैन । बिरामी पर्दा उपचार गर्ने ठाउँ छैन ।’

सरकारले विपद्पछि जनताको जीवन सहज बनाउन तत्काल के योजना अघि सारेको छ भन्ने आफूहरूलाई जानकारी नभएको भन्दै उनले पीडा सुनाइन् ।

‘सरकारले जनताको सेवाका लागि के सोच्दैछ, हामीलाई थाहा छैन । तर, हामी अहिले निकै पीडामा छौं,’ उनले भनिन् । 

सानो भार्खुकी छिरिङ भुटीको चिन्ता पनि उस्तै छ । खोलाको नजिक रहेको बस्ती भएकाले आफूहरू थप जोखिममा रहेको उनको भनाइ छ ।

‘हाम्रो गाउँ खोलाको नजिक छ । धेरै जोखिममा छौं । कहाँ जाने भन्ने पनि कसैले केही भन्दैन,’ उनी भन्छिन्, ‘डरका कारण गाउँमा बस्न सकेका छैनौं ।’

nullमेन्दो झल्प्यो । 

लाप्का चुमुलाई पनि रात काट्न सहज छैन । आफन्तको घरमा पुगे पनि आफ्नै घर र सम्पत्ति पहिरो वा बाढीले लैजाने हो कि भन्ने चिन्ता उनलाई सताइरहन्छ ।

‘राम्रोसँग सुत्न पनि सकेका छैनौं । सुत्न भनेर आफन्तको घरमा गए पनि घर बाढीले लैजाने हो कि भनेर चिन्ता भइरहन्छ,’ उनी भन्छिन्, ‘यत्रो सम्पत्ति पहिरोले लगेपछि हामी कहाँ जाने, के गर्ने ? केही छैन । काठमाडौं घर हुनेहरू त गइसके, हाम्रो त केही छैन । कहाँ जाने ?’

स्थानीय सरकार भन्छ- असुरक्षित बस्ती सार्छौं 

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीपीडितका लागि तीन चरणमा काम गर्ने योजना बनाएको बताए ।

उनका अनुसार पहिलो चरणमा घरका अधिकांश सदस्य गुमाएका र एक-दुई जना मात्र जीवित रहेका परिवारलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिनेछ । दोस्रो चरणमा सम्पत्ति गुमाएका तर ज्यान जोगाएका परिवारको व्यवस्थापन गरिनेछ । तेस्रो चरणमा जोखिममा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना छ ।

null

तर, स्थानीयका लागि स्थानान्तरणको योजना कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने विषय अहिले पनि अनिश्चित छ । तत्कालका लागि उनीहरूलाई सुरक्षित बास, सडक, विद्युत्, स्वास्थ्य सेवा र बजारसम्मको पहुँच आवश्यक छ ।

बाढीले सडक र बजारको संरचना मात्र बगाएको छैन, भार्खुवासीको आम्दानी, आवतजावत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको आधारसमेत बिथोलेको छ । एकातिर तलबाट नदीको कटान र माथिबाट पहिरोको जोखिम छ, अर्कोतिर बजार र सडक सम्पर्क टुटेको छ । यस्तो अवस्थामा स्थानीयको प्रश्न एउटै छ, ‘बाढी फेरि आयो भने भाग्ने ठाउँ कहाँ छ ?’

अब उनीहरूका लागि राहत मात्र पर्याप्त छैन । जोखिममा रहेका बस्तीको सुरक्षित व्यवस्थापन, सडक तथा विद्युत् पुनःस्थापना, स्वास्थ्य सेवा सञ्चालन र स्थानीय उत्पादनका लागि बजारको व्यवस्था तत्काल आवश्यक देखिएको छ ।

Share News