कोमामा सञ्चो, धर्नामा श्रमिक

‘२३ वर्ष काम गर्‍यौं, हात रित्तै छ’

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले वर्षौँदेखि नेपाली बजारमा ‘सञ्चो’ र विभिन्न सुगन्धित तेल उत्पादन गर्दै आएको छ । टाउको दुख्दा, शरीर दुख्दा वा थकान महसुस हुँदा प्रयोग गरिने ‘सञ्चो’ धेरैका लागि परिचित उत्पादन हो ।

तर यही ‘सञ्चो’ बनाउने कम्पनी अहिले भने आफैँ समस्याको उपचार खोजिरहेको छ । कम्पनीको भवन अझै आगजनी र तोडफोडको घाउ बोकेर उभिएको छ । उत्पादन क्षमता घटेको छ । 

डेढ वर्षदेखि कार्यवाहक महाप्रबन्धकको नेतृत्वमा कम्पनी चलिरहेको छ । व्यवस्थापनका कतिपय काम अघि बढ्न सकेका छैनन् । त्यसमाथि वर्षौँदेखि ज्यालादारीमा काम गर्दै आएका श्रमिक सेवा-सुविधाको माग गर्दै तीन दिनदेखि उत्पादन रोकेर धर्नामा बसेका छन् ।

null

आगजनीको घाउ अझै उस्तै

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगजनी तथा तोडफोड भयो । कम्पनीका अनुसार त्यसबाट करिब २८ करोड रुपैयाँ बराबरको क्षति भयो ।

आगजनी भएको डेढ वर्ष पुग्न लाग्दा पनि भवनको पूर्ण पुनर्निर्माण हुन सकेको छैन । क्षतिग्रस्त मेसिनमध्ये थोरै मात्र मर्मत भएका छन् । उत्पादनका लागि उपलब्ध ठाउँ साँघुरिएको छ ।

कम्पनीका सूचना प्रविधि शाखा अधिकृत धनसिंह साउँदका अनुसार आगजनीपछि पनि कम्पनीले आफ्नो उत्पादन र कारोबारलाई निरन्तरता दिने प्रयास ग¥यो । त्यसक्रममा करिब १५ करोड रुपैयाँ बराबरको उत्पादन तथा कारोबार भएको छ ।

त्यसमध्ये करिब साढे ९ करोड रुपैयाँ बराबरको ‘सञ्चो’ र साढे ५ करोड रुपैयाँ बराबरको अन्य सुगन्धित तेलको कारोबार भएको उनले बताए ।

तर, कम्पनीले पुरानै गतिमा उत्पादन गर्न भने सकेको छैन । गत आर्थिक वर्षमा ५५ लाख थान ‘सञ्चो’ लगायतका सुगन्धित तेल उत्पादन गर्ने लक्ष्य राखिएकोमा करिब ३५ लाख थान मात्रै उत्पादन भएको उत्पादन शाखा प्रमुख बखतबहादुर साउँदले बताए ।

‘चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यको ३० प्रतिशत पनि उत्पादन हुन सकेको छैन । अहिलेको अवस्थाले लक्ष्य पूरा गर्न कठिन देखिन्छ,’ उनले भने ।

नेतृत्वको अभाव, उत्पादनमा असर

आगजनीलगत्तै तत्कालीन महाप्रबन्धक संगीता यादवको कार्यकाल सकियो । त्यसपछि अहिलेसम्म कम्पनी कार्यवाहक महाप्रबन्धक उषा रिजालको नेतृत्वमा चलिरहेको छ ।

डेढ वर्षदेखि कार्यवाहक नेतृत्वमा कम्पनी चल्दा कतिपय व्यवस्थापकीय निर्णय अघि बढ्न नसकेको रिजाल बताउँछिन् ।

‘उत्पादन र बिक्री वितरणका कामबाहेक अन्य व्यवस्थापनका कामहरू केही गर्न नसकिएको अवस्था छ,’ उनले भनिन् ।

कम्पनीको समस्या भवन र नेतृत्वमा मात्रै सीमित छैन । जनशक्तिको अवस्थासमेत असन्तुलित छ । कम्पनीमा १३० जनाको स्वीकृत दरबन्दी भए पनि स्थायी कर्मचारी करिब ३० जनाको भरमा काम भइरहेको छ । कम्पनीका अनुसार बारा, कैलालीलगायतका शाखामा गरी मासिक ज्यालादारीमा करिब १३५ र दैनिक ज्यालादारीमा करिब २६० जना कामदार छन् ।

यही ज्यालादारीमा वर्षौँदेखि काम गरिरहेका श्रमिक अहिले कम्पनीको अर्को ठूलो चुनौती बनेका छन् ।

‘२३ वर्ष काम ग¥यौँ, हात रित्तै छ’

सुस्मिता गौतम जडीबुटी कम्पनीमा काम गर्न थालेको २३ वर्ष भयो । १६ वर्षको उमेरमा कम्पनीमा प्रवेश गरेकी उनी अहिले ४० वर्ष पुगेकी छन् ।

उनका लागि कम्पनी केवल रोजगारीको ठाउँ होइन, जीवनको ठूलो हिस्सा बितेको ठाउँ हो । तर, यत्रो वर्ष काम गरेपछि पनि आफूहरूसँग सुरक्षित भविष्यका लागि केही नभएको उनको गुनासो छ ।

‘ज्यान नै यहीँ खर्च गरिसक्यौं । अब यहाँबाट निस्केर गएँ भने पनि मसँग रित्तो हात हुन्छ,’ उनले भनिन् । 

nullसुस्मिता गौतम । 

गौतमका अनुसार कामदारहरुले लामो समयदेखि सामाजिक सुरक्षा कोषमा आबद्धता, उपदान तथा अन्य सेवा–सुविधाको माग गर्दै आएका छन् । अहिले दशैं नजिकिँदै गर्दा तत्कालका लागि दशैं पेश्कीको मागसमेत अघि सारेका छन् ।

‘हामीले आजको भोलि आएर माग गरेको होइन । कोही १० वर्ष, कोही १२ वर्ष, कोही २०–२५ वर्षदेखि काम गरिरहेका छन्,’ उनले भनिन् ।

उनका अनुसार दैनिक ज्यालादारी प्रकृतिको काम भएकाले बिदा बसेको दिनको पारिश्रमिकसमेत नआउने अवस्था छ ।

अदालतको फैसला पनि कार्यान्वयन भएन 

मुकुन्द अर्याल जडीबुटी कम्पनीमा काम गरेको ८/९ वर्ष भएको बताउँछन् । उनका अनुसार श्रमिकका सेवा–सुविधाको विषय अदालतसम्म पुगेको थियो ।

उनले २०८१ जेठ ३१ गते श्रम अदालतबाट श्रम ऐन, सामाजिक सुरक्षा ऐनलगायतका कानुनी व्यवस्थालाई आधार मानेर श्रमिकको पक्षमा फैसला आएको दाबी गरे ।

तर, फैसला आएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको उनको गुनासो छ ।

‘हामीले पटक-पटक सञ्चालक समिति, सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निवेदन गरेका छौँ । तर मागप्रति बेवास्ता भयो,’ अर्यालले भने ।

nullमुकुन्द अर्याल । 

उनका अनुसार अहिले काठमाडौँस्थित केन्द्रीय कार्यालयमा करिब ३५ जना र देशभरका विभिन्न शाखामा गरी करिब २५० जना श्रमिक आन्दोलनमा छन् ।

श्रमिकहरूले तत्काल सबै माग पूरा गर्न नसके पनि कम्तीमा दशैंअघि चाडपर्व खर्च उपलब्ध गराएर वार्ताको वातावरण बनाउन व्यवस्थापनसँग आग्रह गरेका छन् ।

‘कम्पनी बचाऔँ’ भन्दै काम गरेका श्रमिक आफै असुरक्षित

सञ्जना नेपाल कम्पनीमा काम गर्न थालेको करिब १० वर्ष भयो । उनी कम्पनीले विगतमा नाफामा गएपछि श्रमिकका सेवा-सुविधा उपलब्ध गराउने आश्वासन दिएको सम्झिन्छिन् ।

उनका अनुसार त्यही आश्वासनपछि श्रमिकहरूले अतिरिक्त समयसमेत काम गरेर कम्पनीलाई अघि बढाउन सहयोग गरे ।

nullसञ्जना नेपाल । 

तर, कम्पनीको अवस्था सुध्रिँदै जाँदा पनि श्रमिकका माग सम्बोधन नभएको उनको गुनासो छ । ‘कम्पनीलाई माथि उचालौं, नाफामा गएपछि तपाईंहरूले पाउने सबै सेवा-सुविधा दिलाउँछु भनेर हामीसँग भनिएको थियो,’ उनले भनिन्, ‘हामीले विश्वास गरेर काम ग¥यौं । तर पछि हाम्रा मागहरू सम्बोधन भएनन् ।’

नेपालका अनुसार न्यूनतम् पारिश्रमिकसमेत अदालतको फैसला आएपछि मात्रै पाउन थालेको श्रमिकहरूको दाबी छ । अहिले उनीहरूको तत्कालको माग भने ठूलो छैन ।

‘हामी सबै माग एकैपटक पूरा गर भनेर अडानमा छैनौं । अहिले दशैं पेश्की दिएर काममा फर्किने वातावरण बनाइदिनुस् भनेका छौं,’ उनले भनिन् ।

तर, कम्पनीले भने कामदारहरुको धर्नाले समस्या झन थपिएको बताएको छ । कार्यवाहक महाप्रबन्धक रिजाल भन्छिन्, ‘उहाँहरूको असन्तुष्टि अहिलेको होइन, वर्षौँदेखिको हो । उहाँहरूले विभिन्न सेवा-सुविधाको माग राख्नुभएको छ । उहाँहरूका माग जायज पनि छन्,’ रिजालले भनिन् ।

nullउशा रिजाल । 

तर, आगजनीपछि कमजोर बनेको कम्पनीमा अहिले उत्पादन नै रोकेर श्रमिक धर्नामा बस्दा समस्या झन थपिएको उनको भनाइ छ ।

कम्पनीको भवन मर्मत हुन बाँकी छ । क्षतिग्रस्त मेसिन पूर्ण क्षमतामा सञ्चालनमा आएका छैनन् । साँघुरो ठाउँमा सीमित जनशक्तिबाट उत्पादन भइरहेको छ । त्यसमाथि श्रमिक आन्दोलनले उत्पादन प्रभावित भएको व्यवस्थापनको भनाइ छ ।

श्रमिकहरूले माग सम्बोधन नभएसम्म काममा नफर्किने बताएका छन् । व्यवस्थापनले भने कम्पनीको कमजोर आर्थिक तथा भौतिक अवस्थाबीच उत्पादन र व्यवस्थापन दुवैलाई अघि बढाउनुपर्ने चुनौती सामना गरिरहेको छ ।

Share News