काठमाडौं । अस्पतालको बेड संख्या बढाउन अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि प्रदेश सरकारले छानबिन अघि बढाएको छ ।
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ ।
गण्डकी सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो घुस काण्डको छानबिन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानबिनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतिको कानुनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले जानकारी दिए ।
उनका अनुसार समितिको सदस्यमा को–को रहने छन् भन्ने खुलाइएको छैन भने समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव बसौलाको जिम्मेवारी खोसेको छ ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको मन्त्री शेरचनले बताए ।
मन्त्रिपरिषद बैठकले घुस बार्गेनिङमार्फत स्तरवृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
मन्त्री शेरचनले भने, ‘सो विषय छानबिनको चरणमा रहेको हुँदा उक्त अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने निर्णय बैठकले गरेको छ ।’
सो ५० शय्याको अस्पताल स्तरोन्नति गरी एक सय शय्याको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेशमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो सार्वजनिक भएको थियो ।
सो अडियो भिडियोमा मन्त्री क्वार्टरमै पैसाको बार्गेनिङ भएको देखिन्छ भने उक्त रकम लिन मन्त्रीका स्वकीय सचिव पौडेलले ताकेता गर्दै फोन संवाद गरेका थिए ।
बार्गेनिङ गरेको अडियो भिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन् ।
उनीहरूले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोही अनुसार आफूहरूले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन् ।
तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन् ।
यसअघि, यही घुस काण्डबारे छानबिन गर्न नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा एमालेले पनि छुट्टै समिति गठन गरिसकेको छ । सो समितिले छानबिन सुरु गरिसकेको जनाएको छ ।