'रसुवा बाढीमा सम्पर्कविहीनहरू अब जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौँ'

काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन् । यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए ।

उनले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिए । कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए । सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनको भनाइ छ ।

उनले खोज तथा उद्धारपछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अगाडि बढाउने बताए ।

उनले भने, ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छन् । खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ, यद्यपि विपद् विज्ञ म होइन । अन्तर्राष्ट्रिय अभ्यास २१ दिनपछि पनि जीवितै पाइन्छन् भन्ने कुरा छ । अहिले अन्यत्र त हाम्रो त्यस्तो भेटिएको छैन ।’

उनले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँगको समन्वयमा भइरहेको पनि जानकारी दिए ।

बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ । उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनले बताए ।

स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन् । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ ।

Share News