काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावका कारण उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था भएको छ । साँघुरो पूर्वाधारका कारण भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई समेत सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार दैनिक करिब ३० जना क्यान्सरका बिरामीलाई भर्ना तथा डे–केयर उपचार आवश्यक पर्ने भए पनि शय्या अभावका कारण समस्या भएको हो । शल्यक्रिया र रेडियसनका लागि बिरामीले दुई सातासम्म कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।
एक सय ६५ शय्या रहेको अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये करिब ८० प्रतिशत क्यान्सरका बिरामी छन् । दैनिक ८–१० जनाको शल्यक्रिया, करिब ७० जनालाई किमोथेरापी र १५० जनालाई रेडियसन सेवा दिइँदै आएको अस्पतालले जनाएको छ ।
पूर्वाधार अभावका कारण उपचारका लागि आएका विपन्न बिरामीसमेत निजी अस्पताल वा भारत जान बाध्य भएको डा.चालिसेले बताए । अस्पतालका लागि चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा जग्गा खोजिए पनि हालसम्म प्राप्त हुन सकेको छैन ।