काठमाडौं । सरकारले घोषणा गरेको कानून सुधार तथा निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै मन्त्रालयसँग नियमित समन्वय प्रक्रिया सुरु गरेको छ ।
आगामी आर्थिक वर्षभित्र संघीय संसदमा पेश गरिने १६६ वटा विधेयक समयमै तयार गर्न मन्त्रालयले प्रत्येक महिनाको पहिलो सोमबार अन्तरमन्त्रालय समीक्षा बैठक गर्ने निर्णय गरेको हो ।
सोमबार आयोजित पहिलो बैठकमा विभिन्न मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखहरू सहभागी रहेको मन्त्री सोविता गौतमको सचिवालयले जनाएको छ ।
कानुनमन्त्री गौतमको सचिवालयका अनुसार बैठकले विधेयक निर्माणको प्रगति, देखिएका कानुनी तथा प्रशासनिक चुनौती र समाधानका उपायबारे नियमित समीक्षा गरेको छ ।
मन्त्री गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुन सुधार तथा निर्माण वर्षलाई सफल बनाउन र संघीय संसद्लाई आवश्यक विधायिकी कार्य समयमै उपलब्ध गराउने उद्देश्यले १६६ विधेयकको लक्ष्य पूरा गर्न आजबाट नियमित छलफल सुरु गरिएको हो । यो प्रक्रिया प्रत्येक महिनाको पहिलो सोमबार निरन्तर सञ्चालन हुनेछ ।’
कानुन मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरिने १६६ वटा विधेयकको सूची यसअघि नै संघीय संसद् सचिवालयमा पेश गरिसकेको छ ।
ती विधेयकको मस्यौदा तयारी, अन्तरमन्त्रालय समन्वय र समयसीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन मासिक समीक्षा संयन्त्र लागू गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै विकास निर्माण, लगानी प्रवद्र्धन, सेवा प्रवाह र सुशासनलाई सहयोग पुग्ने गरी विद्यमान कानुनको पुनरावलोकन तथा आवश्यक नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राखेको छ ।
यस अभियानलाई कार्यान्वयन गर्न मन्त्रालयले ९ बुँदे कार्ययोजना समेत तयार गरी लागू गरिसकेको सचिवालयले जनाएको छ ।
यसैबीच, सरकारले संघीय संसदमा विधेयकको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक मा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले संसद्लाई आवश्यक विधेयक समयमै उपलब्ध गराइने र विधायिकी कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएकी हुन् ।
सरकारले एकै आर्थिक वर्षभित्र १६६ विधेयक अघि बढाउने लक्ष्य सार्वजनिक गरेसँगै अब त्यसको कार्यान्वयन, मन्त्रालयहरूबीचको समन्वय र संसद्को विधायिकी कार्यक्षमता मुख्य परीक्षणका विषय बन्ने देखिएको छ ।