काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गर्न लागेको ग्रीन रनमा करिब एक हजार चार सय धावक सहभागी हुने भएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार साउन ६ गते आयोजना हुने पाँच किलोमिटरको ग्रीन रन जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको हो । कांग्रेसका अनुसार दौडमा विभिन्न उमेर समूहका करिब एक हजार चार सय प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।
‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ भन्ने नारासहित हुने दौड ललितपुरस्थित यूएन पार्कबाट सुरु हुनेछ । ग्रीन रनपछि जावलाखेलमा जलवायु परिवर्तनका चुनौती र समाधानका विषयमा विज्ञहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने कार्यक्रम रहेको छ ।