१८ सुकुम्वासी परिवार बने घरधनी, सबैले पाए लालपुर्जा

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपूर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । 

नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा हस्तान्तरण गरेको छ ।

नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो । सबै सुकुम्वासी परिवारले घर, जग्गा र लालपूर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासी मुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उनले बताए । 

उनले नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसअनुसार नगरपालिकाले सुकुम्वासीको पहिचान, जग्गा खरिद, घर निर्माण र लालपूर्जा वितरणको काम गरेको बताए । 

नगरपालिकाले सुकुम्वासीका साथै प्राकृतिक विपद्का कारण विस्थापित तथा आर्थिक अभावका कारण घर बनाउन नसकेका ४४ परिवारका लागि पनि घर निर्माण गरिदिएको छ ।

त्यसका लागि नगरपालिकाले कार्यविधि बनाएर घर विहीन परिवारलाई ३ लाख रुपैयाँ, विपद्का कारण घर गुमाएका परिवारलाई २ लाख ५० हजार रुपैयाँ र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको उपप्रमुख शर्माले जानकारी दिए । 

पहिलो चरणमा तीन पुस्तासम्म घर नभएका परिवारलाई आवास निर्माण गरिएको थियो । दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण आफ्नै घरमा बस्न नसकी अरूकै घरमा आश्रित परिवारलाई घर निर्माण गरेर बसोवासको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

घर प्राप्त गर्ने स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगपछि स्थायी रूपमा बस्ने ठाउँको चिन्ता हटेको बताए । उनले भने, ‘हामी समस्यामा पर्दा नगरपालिकाले घर बनाइदियो । अहिले गरिब र विपन्नको समस्या पनि सम्बोधन भएको अनुभूति भएको छ । घर पाएपछि अब बाँकी आवश्यकता मेहनत गरेर पूरा गर्न सकिन्छ ।’

Share News