काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका क्रममा घाइते भएका माजिद अन्सारी उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)बाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएसँगै उनी प्रहरी हिरासतबाट पनि रिहा भएका छन् ।
काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टर, सत्सङ्गबाट पक्राउ परेका अन्सारीलाई राष्ट्रिय मानव अधिकार आयोगको प्रत्यक्ष रोहबरमा अस्पतालबाट डिस्चार्ज गरिएको हो । त्यसपछि आयोगकै उपस्थितिमा उनी प्रहरी हिरासतबाट मुक्त भएका हुन् ।
अन्सारीको रिहाइ चौतर्फी दबाबपछि भएको बताइएको छ । उनीमाथि भएको भनिएको कुटपिट र पक्राउको विषय सार्वजनिक भएपछि मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, जेन–जी अभियन्ता तथा विभिन्न क्षेत्रबाट सडकदेखि संसदसम्म आवाज उठाइएको थियो । बढ्दो सार्वजनिक दबाबपछि प्रहरीले अन्सारीलाई कुनै सर्तबिना हिरासतबाट रिहा गरेको परिवारले जनाएको छ ।
यद्यपि, उपचारका क्रममा लागेको सम्पूर्ण खर्च भने सरकारले नबेहोरेको परिवारको भनाइ छ। उपचार खर्च परिवारले नै व्यहोरेको जनाइएको छ ।
हाल अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको संरक्षणमा रहेका छन् । उनीमाथि प्रहरी हिरासतमा भएको भनिएको कुटपिट तथा यातनासम्बन्धी घटनाको अनुसन्धान, न्यायिक प्रक्रिया र कानुनी उपचारका बाँकी विषय आयोगले तयार गर्ने प्रतिवेदनका आधारमा अगाडि बढाइने बताइएको छ ।
अन्सारीको जीवनरक्षा, उपचार र सुरक्षाका लागि निरन्तर आवाज उठाउने मानव अधिकारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, जेन–जी अभियन्ता तथा सबै सहयोगीप्रति उनका परिवारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।