काठमाडौं । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाजसेवा र स्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता दिँदै शनिबार दुईवटा सेवामूलक संस्थालाई सहयोग प्रदान गरेको छ ।
बैंकले तनहुँको देवघाटस्थित श्री कृष्ण प्रणामी मन्दिर कृपा धाम मा शुद्ध पिउने पानीको व्यवस्थापनका लागि डिप बोरिङ निर्माण कार्यमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै, नवलपुरको देवचुली-१६, रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय लाई उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ ।
सहयोग सामग्री बैंकका सञ्चालक सञ्जीव पौडेल को रोहबरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ले सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश कार्यालय, चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल, सन्देश दुङ्गेल लगायत दुवै संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकले नाफामूलक संस्थाको भूमिकामा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।
सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले बैंकको सहयोगले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै कृषि विकास बैंकप्रति आभार प्रकट गरेका थिए । यस कार्यक्रममार्फत कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै समुदायको दिगो विकास र जनहितका क्षेत्रमा योगदान पु¥याउने आफ्नो अभियानलाई थप सुदृढ बनाएको छ ।