काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ । आइतबार एकैदिन प्रतितोला ५ हजार ७ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने प्रतितोला एक हजार ४ सय रुपैयाँले घट्दै दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार केही घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।